Federation of Indigenous Peoples of Nepal in America (FIPNA)
Follow us:

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका–टेक्सास च्याप्टर सर्वसम्मत रूपमा गठन

Event Image

हार्दिक बधाई तथा शुभकामना

“संस्था केवल संरचना होइन, साझा इतिहास, साझा चेतना र भावी पुस्ताप्रतिको उत्तरदायित्वको जीवित अभियान हो।”

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (FIPNA) को संगठन विस्तार अभियानअन्तर्गत आज जुलाई १९, २०२६ का दिन टेक्सासको डलास–युलेसमा नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका–टेक्सास च्याप्टर सर्वसम्मत रूपमा गठन भएको ऐतिहासिक अवसरमा सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछौं।

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (FIPNA) का केन्द्रीय अध्यक्ष श्री पासाङ दोर्जे शेर्पा (एपी लामा) को अध्यक्षतामा सम्पन्न उक्त ऐतिहासिक भेलाबाट श्री दिलिप राईको अध्यक्षतामा १५ सदस्यीय टेक्सास च्याप्टर कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

टेक्सास च्याप्टरको स्थापना केवल एउटा नयाँ संगठन गठन मात्र होइन; यो अमेरिकामा रहेका नेपाली आदिवासी जनजाति समुदायको सामूहिक चेतना, संस्थागत विकास, एकता, सहकार्य र आफ्नो भाषा, धर्म, संस्कृति, परम्परा, मौलिक पहिचान तथा अस्तित्व संरक्षणप्रतिको अटल प्रतिबद्धताको ऐतिहासिक अभियान हो।

हाम्रो भाषा, धर्म, संस्कृति, सभ्यता र पुर्खाहरूले हस्तान्तरण गर्नुभएको अमूल्य विरासत को संरक्षण, संवर्द्धन र भावी पुस्तामा हस्तान्तरण गर्नु हाम्रो गौरव मात्र होइन, हाम्रो ऐतिहासिक दायित्व पनि हो। यही महान् उद्देश्यलाई आत्मसात् गर्दै टेक्सास च्याप्टरले समुदायलाई अझ संगठित, सशक्त र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौं।

संगठन विस्तारसँगै समुदायले आफ्नो पहिचान, संस्कृति र परम्पराको संरक्षण गर्ने साझा मञ्च, आपसी सहकार्य र अनुभव आदान–प्रदान गर्ने अवसर, नयाँ पुस्तालाई आफ्नो मौलिक जरा र इतिहाससँग जोड्ने आधार तथा समुदायका साझा विषयहरूलाई संस्थागत रूपमा अगाडि बढाउने बलियो माध्यम प्राप्त गर्नेछ।

बलियो संगठनले मात्र समुदायका आवश्यकता, चुनौती र सम्भावनालाई सही ढंगले पहिचान गरी सामाजिक, सांस्कृतिक र संस्थागत विकासको यात्रालाई प्रभावकारी रूपमा अघि बढाउन सक्छ। त्यसैले प्रत्येक च्याप्टरको स्थापना केवल संरचना विस्तार होइन, समुदायको आत्मसम्मान, एकता र भावी पुस्ताको सुरक्षित भविष्य निर्माण गर्ने महत्वपूर्ण आधारशिला हो।

संगठनको शक्ति पदमा होइन, विचार, मूल्य, उद्देश्य र सेवाभावमा हुन्छ। यही आदर्शलाई आत्मसात् गर्दै नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (FIPNA) आफ्ना सम्पूर्ण राज्य च्याप्टरहरूसँग सहकार्य, समन्वय र एकताको भावनाका साथ अघि बढ्दै समुदायको हित, पहिचान संरक्षण र संस्थागत विकासको यात्रामा निरन्तर प्रतिबद्ध रहनेछ।

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (FIPNA) – टेक्सास च्याप्टर नवनिर्वाचित कार्यसमिति लाइ हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना !

अध्यक्ष: श्री दिलिप राई

उपाध्यक्ष: श्री भीम थापा मगर

उपाध्यक्ष: श्री मिना चेम्जोङ

सचिव: श्री प्रनिस तामाङ

सहसचिव: श्री रामकुमार चौधरी

कोषाध्यक्ष: श्री गणेश घिसिङ

सह–कोषाध्यक्ष: श्री निलेश श्रेष्ठ

सदस्यहरू:

श्री रविन थापा मगर

श्री शशी कपुर चौधरी

श्री दिपेन्द्र राई

श्री पेम्पा शेर्पा

श्री प्रवीण बन्तवा राई

श्री सम्जिरी लिंगदेन

पासाङ दोर्जे शेर्पा (एपी लामा)

केन्द्रीय अध्यक्ष

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (FIPNA)